अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।
जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।