फाईल फोटो
नेपालमा आधुनिक उपचार पद्धतिको सुरुवात हुनुभन्दा पहिले धामीझाँक्रीमा नै मान्छेले विश्वास राख्थे, त्यही गर्थे । आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालका अधिकांश जातिमा एकजना वैद्यको व्यवस्था गरिएको हुन्थ्यो । तिनै वैद्यहरुले आयुर्वेदिक उपचार विधि अनुसार बिरामीको अवस्था हेरेर विभिन्न जडिबुटी खुवाउँथे ।
दुरा समुदायमा पनि बिरामी हुँदा खुवाउने जडीबुटीको सूची छुट्टै छ । यो समुदायमा कसैलाई कुनै रोगव्याधी लागेको खण्डमा आफ्नै खेतबारी, जंगल र पहाडमा पाइने जडीबुटीहरूको प्रयोग गरी उपचार गर्ने परम्परा रहेको आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रबाट प्रकाशित दुरा संस्कृति र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली नामक कृतिमा उल्लेख छ । तुर्लुङकोटका शेरबहादुर दुराले विगत लामो समयदेखि गाउँको कसैलाई गानो गोला, ज्वरो, जण्डिस, अरूची, ग्यास्ट्रिक र हातगोडा सुन्निएका बिरामीहरुले यही विधिबाट उपचार गर्दै आएका छन् । उनकोमा आफ्नो गाउँका साथै अन्य छिमेकी गाउँहरू भोर्लेटार, पोखरा, काठमाडौंबाट समेत चिने जानेकाहरू मार्फत् औषधि माग्न आउने गर्छन् । जडीबुटीहरुको उपलब्धता, प्रयोग र मात्राका सम्बन्धमा दुराहरूमा परम्परागत ज्ञान रहेको पाइन्छ । दुराहरूले विभिन्न रोगहरूमा फरक–फरक किसिमका जडीबुटीहरू प्रयोग गर्ने गर्छन् ।
रुदिलो : रुदिलोको प्रयोग ज्वरो आएमा र मुखमा खटिरा आएमा प्रयोग गरिन्छ । यसको पात र जरा ओषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको पातलाई थिचेर टाउकोमा लेप लगाउने, जरालाई घोटेर वा थिचेर लगाउने गरिन्छ । डाडुझार (ठूलो खाले) : यो जडीबुटीको प्रयोग बच्चाको टाउकोमा खटिरा आएमा प्रयोग गर्ने गरिन्छ । यसको पातलाई थिचेर त्यसको रसले नुहाउने गरिन्छ ।
गन्धेझार : हात/खुट्टा काटेमा गन्धेझारको पात लगाउने गरिन्छ । यसको पातलाई निचोरेर रस निकाली काटेको भागमा लगाउने गरिन्छ । वासुकी : वासुकी भन्ने जडीबुटीलाई ज्वरो, ग्याष्ट्रिक रोगको निवारणको लागि प्रयोग गरिन्छ । यसको फललाई पकाएर रस पिउँदा सो समस्या निवारण हुन्छ भन्ने विश्वास छ । गुर्झो : पिसाब रोकिएमा वा गर्मी भएमा गुर्झाेको प्रयोग गर्ने गरिन्छ । यसको लहरालाई पिसेर रस बनाई पिउँदा उक्त समस्या समाधान हुन्छ भन्ने मान्यता राखिन्छ ।
बिरालेको लहरा : पेट पोलेको समस्यालाई बिरालेको लहराले समाधान गर्ने बताइन्छ । बिरालेको लहराको बोक्रा बोक्रालाई पानीमा भिजाउने र यसवाट निस्केको चिप्लो झोल पिउने, अर्काेतर्फ अलैंची र चिप्ले किराको फूल मिसाएर पनि उक्त समस्याको निवारण गर्न सकिन्छ भन्ने मान्यता छ । मालबु केराको जरा : मालुवा केराको जरालाई आँतमा गर्मी भएको खण्डमा प्रयोग गर्ने गरिन्छ । उक्त समस्याको लागि मालुवाको जरा कुटेर रस पिउने गरिन्छ ।
पुरानेको लहरा : आँखामा फुलो परेमा पुरानेको लहरा लगाउने चलन पाइन्छ । यसको लहरा काटने र लहरालाई मुखले जोडले फुक्ने गरिन्छ । लहराको स–सानो छिद्रबाट निस्कने पानीको रसलाई आँखामा आइड्रपको रूपमा लगाउने गरिन्छ । बेतलौरी : गर्मी भएमा बेतलौरीको प्रयोग गर्ने चलन दुरा समुदायमा पाइन्छ । आँतमा भित्री ज्वरो आएमा पनि बेतलौरीको रुखको डाँठलाई थिचेर रस निकाली पिउने गरिन्छ । यसले उक्त समस्यालाई निको गराउँछ भन्ने मान्यतार राखिन्छ ।
हडचुर : हडचुर भन्ने जडीबुटी हातखुट्टा भाँचिएमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग बोक्रालाई पिसेर भाँचिएको ठाउँमा डोरीले बाँध्ने र सोही औषधि लगाउने गरिन्छ । शिकारी लहरा र जरा : शिकारी लहरा र त्यसको जरा टाउको दुखेको उपचारको लागि प्रयोग गरिन्छ । हड्डी भाचिएमा र मर्किएमा यसको लहरालाई घाममा सुकाउने र सुकेको लहरालाई ढिकीमा कुटेर पीठो बनाई चामलको पीठोसँग मिसाएर पुवा वा रोटी बनाएर खाने गरिन्छ ।
थिर्चो, कन्धने लहरा, हरचुल : यी तीन जडीबुटी ढाड दुखेको, हड्डी भाँचिएको र मर्किएको ठाउँमा लगाउने गरिन्छ । त्यसमा यसका लहरा गाना आदि काम लाग्छन् । कन्धनेको गाना र हरचुलको बोक्रा ढिकीमा कुटेर पीठो बनाई चामलको पीठोसँग मिसाएर पुवा, रोटी बनाएर खाने गरिन्छ । साथै लेप लगाउने पनि गरिन्छ । आकाशबेली झार : जण्डिसको लागि आकाशबेली झारको प्रयोग गर्ने गरिन्छ । लहरालाई थिचेर त्यसको रस पिउने, झार ओछ्याएर सुकाएर पनि त्यसलाई पिस्न सकिन्छ ।
गाइखुरे : गाइखुरे भन्ने जडीबुटीको डाँठ÷जराको प्रयोग हड्डी भाँचिएमा गरिन्छ । डाँठ र जरालाई पिसेर पीठो बनाई रोटी बनाएर खाने गरिन्छ । सुनगाभा/झ्याउ फूल : हड्डी भाँचिएमा यसको डाँठ र फूलको प्रयोग गर्ने गरिन्छ । डाँठ वा फूललाई पिसेर पीठो बनाउने र भाँचिएको ठाउँमा लगाई काम्रो बाँध्दा यसको सही उपचार पाइन्छ भन्ने मान्यता राखिन्छ ।
भुइँचम्पा : भुइँचम्पाको जरा र गानोलाई हात÷खुट्टा भाँचिएको समस्या समाधानको लागि प्रयोग गर्न सकिन्छ । यसको जरालाई पिसेर भाँचिएको ठाँउमा लेप लगाई बाँसबाट बनेको काम्रोले बाँध्ने गरिन्छ । रानी सिन्का झार : रानी सिन्का झारलाई पेट दुखेको बेलामा लगाउन सकिन्छ । ग्याष्ट्रिक भएको अवस्थामा बोटको कलिलो भागलाई थिचेर÷माडेर सुर्ती जस्तै गरेर खाने गरिन्छ ।
जडिबुटीको ज्ञानले अहिले पनि जीवन बचाउँछ ! दुराजातीको जडिबुटी ज्ञान उदाहरण हो !!
मगरात खबर
२० माघ २०७८, बिहीबार