काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौँसँगको सहकार्यमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८ का प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले समारोहलाई सम्बोधन गर्दै विविध सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न जातजातिका मातृभाषा लोप भए नेपालको मौलिक सांस्कृतिक पहिचान मेटिने भएकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रज्ञा–प्रतिष्ठानले कविता महोत्सव गरेजस्तै मातृभाषामा साहित्यका अन्य विधामा पनि गतिविधि अघि बढाउन उहाँले सुझाव दिनुभयो । मातृभाषालाई स्थानीय सरकारका कामकाजका भाषाका रूपमा पनि स्थापित गर्नुपर्ने बताउनुहुँदै उहाँले भाषा आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गर्न नुहुने बताउनुभयो । प्रविधिका माध्यमबाट पनि भाषाको सवद्र्धन गर्न सकिनेतर्फ उहाँले ध्यान दिन आग्रह गर्नुभयो ।
स्थानीय निर्वाचन तोकिएको समयमा हुने विश्वास व्यक्त गर्नुहुँदै सङ्घीय शासन व्यवस्था अब संस्थागत भएको उपराष्ट्रपति पुनले बताउनुभयो । दूरगामी महत्व राख्ने विषयमा विगतबाट पाठ सिक्दै राष्ट्रिय सहमति गर्न पनि उहाँले सुझाव दिनुभयो । प्रज्ञा–प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भाषा र संस्कृति नै राष्ट्रको मौलिक पहिचान भएकाले यसको संरक्षणका लागि सरकारले काम गर्ने बताउनुभयो ।
भाषाले मानव सभ्यतालाई यगौँयुगसम्म जीवन्त बनाउने भएकाले यसको संरक्षणमा राज्यले काम गर्नेमा उहाँले जोड दिनुभयो । आमा वा आमाजस्तै माया गर्ने मानिसको काखमा बालकले जुन भाषा सिक्छ, त्यो नै मातृभाषा भएको उल्लेख गर्नुहुँदै मन्त्री आलेले मातृभाषा संरक्षणले देशको मौलिक सस्कृति बचाउन सहयोग गर्ने बताउनुभयो । कविता महोत्सवले मातृभाषामा साहित्य सृजना गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सङ्कटापन्न मातृभाषाको संरक्षणकै लागि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको बताउनुभयो ।
मातृभाषामा साहित्य सृजनाका साथै बोलीचालीले नै तिनलाई जोगाउने मन्त्री आलेको भनाई थियो । “म आफैँ मगर मातृभाषाबाट प्रतिनिधित्व गर्छु”–उहाँले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानलाई अध्ययन, अनुसन्धानका लागि मन्त्रालयले आवश्यक बजेट विनियोेजन गर्ने मन्त्री आलेको वाचा थियो । मातृभाषा सरक्षण एवं संवद्र्धनमा अझ धेरै काम गर्न उहाँले सुझाव दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीले भाषिक बहुलतालाई बचाएर लैजान अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुई दिने कार्यक्रम आयोजना गरिएको बताउनुभयो । इन्द्रेणीमय विविधता नबुझ्दा विगतमा अनेक अशान्ति भए । धेरैले सहादत दिनुप¥यो । इन्द्रेणीमय विविधताको व्यवस्थापन गरेर शान्ति स्थापना गर्न सकिने उहाँको भनाई थियो ।
“आफैँले आफैँलाई पहिचान गर्न नसके हामी दुर्बल हुन्छौँ, इन्द्रेणीमय भाषिक, सांस्कृतिक विविधता संरक्षण गर्न प्रतिष्ठानले राष्ट्रिय रूपमा दुई दिन कार्यक्रम गर्ने गरेको छ, यस अवसरमा भाषिक समस्या कहाँ कहाँ छ भनेर गोष्ठी गरिन्छ, यो छलफल हिजो ग¥यौँ, हामीभित्रको गौरवमय सुन्दरतालाई सदुपयोग गरे राम्रो र गरिएन भने नराम्रो गर्छ, बहुलतामा रहेको एकतालाई प्रवद्र्धन गर्न यो कार्यक्रम समर्पित छ”– उहाँले भन्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले विसं २०६८ को जनगणना अनुसार १२४ भाषा समुदाय सूचीकृत भएकामा एउटा समुदायले आफ्नो भाषा नबोल्ने उल्लेख गर्नुहुँदै भाषा आयोगले गरेको अध्ययनबाट थप आठ भाषा पनि फेला पारेकाले १३२ भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । १३२ थुङ्गा फूलको गणराज्य नेपालले सबै मातृभाषाको संरक्षणमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
धन्यवाद ज्ञापन गर्नुहुँदै सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले संसारमा सात हजार मातृभाषा बोलिने गरेकामा ४३ प्रतिशत लोपोन्मुख अवस्थामा पुगेको अध्ययन अनुसन्धानबाट देखिन थालेको बताउनुभयो । नेपालमा पनि करिब ४० प्रतिशत मातृभाषा लोप हुन लागेका तथ्य सार्वजनिक हुन थालेकाले प्रतिष्ठान, विभिन्न विश्वविद्यालयलगायत सरोकार भएका निकाय मिलेर संरक्षण गरिनुपर्ने विचार उहाँले राख्नुभयो ।
कविता महोत्सव संयोजक एवं प्रतिष्ठान साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले बालबालिकालाई घरमै मातृभाषा बोल्न सिकाएर संस्कृति संरक्षणमा काम गर्नुपर्ने बताउनुभयो ।
मातृभाषाको अध्ययन अनुसन्धानका लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा मौलिक भेषभुषामा सजिएका विभिन्न १६ जातीय समुदायका कलाकारले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कलाकारले पनि हिमालदेखि तराईसम्म लोकधुनसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका मुख्य प्रकाशन उपराष्ट्रपति पुन र मन्त्री आलेलाई हस्तान्तरण गर्नुभएको थियो । समारोहको समुद्घाटन सत्रपछि सुरु भएको कविता महोत्सवमा विभिन्न मातृभाषाका ४६ जना कविले आ–आफ्ना कविता सुनाउनुभएको थियो