निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । बुधबार निर्माता र अभिनेता लामिछानेबीच लिखित सहमति भएको छ ।
खगेन्द्रले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्नेछन् । यो फिल्म मेयर थापाको जीवनमा आधारित हुने जनाइएको छ ।
माघदेखि सर्लाहीमै यो फिल्मको छायांकन सुरु हुनेछ । अभिनेत्री भने तय हुन बाँकी छ । ‘भरतकुमार थापाको आनीबानी, हुलिया र स्वभावसँग खगेन्द्रजीको धेरै कुरा मिल्छ । खगेन्द्रजी पनि पर्दाबाहिर हक्की स्वभावको हुन्छ । यसबाहेक उहाँ कुशल अभिनेता हो,’ खगेन्द्रको कास्टिङबारे निर्देशक खनालले भने ।
खगेन्द्रले केही दिनदेखि मेयर थापाको आनीबानी र स्वभाव सिकिरहेका छन् । फिल्ममा खगेन्द्रले तन्नेरी अवस्थाका मेयर थापा र अहिलेको उमेरको थापा गरेर दुई चरणको पात्रको अभिनय गर्नेछन् ।