विदेशमा रहेका नेपालीको कथावस्तुमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले यसलाई निर्देशन गर्नेछन् ।
निर्माता कम्पनी पद्म इश्वर इन्टरटेनमेन्टले बनाउन लागेको फिल्म छायांकन मंसिर ६ गतेदेखि सुरु हुने जनाइएको छ ।
पाँचथरदेखि सुरु हुने छायांकन भारतको सिक्किम र देहरादून, म्यानमार, अमेरिका र क्यानडामा समेत हुने जारी विज्ञप्तिमा उल्लेख छ । छायांकनसँगै विषयवस्तुको समेत अध्ययन गर्नुपर्ने भएकाले योजनाभन्दा केही समय बढी निर्माणमा लाग्ने जनाइएको छ ।
फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र गौरवलाई उठान गर्ने निर्देशक प्रधानले बताए । पटकथा लेखक शिवम् अधिकारी हुन् । अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताले नेपाली भाषालाई लिएर गरेको अनुसन्धानमा फिल्म आधारित हुने लेखक अधिकारीले बताए ।